Thursday, April 10, 2025

जातिसूचक थरमाथि बहस

नेपालमा अहिले जातसूचक थरमा आधारित संस्था बन्दैछन्, त्यसमा आबद्ध हुनेहरु बढ्दै छन्। कुनै निश्चित उपकारी प्रयोजन वा लक्ष प्राप्तिका लागि वा अधिकार प्राप्तिका लागि सामुहिक आवाज र दबाब सिर्जना गर्न यसरी एकजुट हुनु पक्कै बेस हो। तर जातीय समुदाय यसरी संगठित हुँदै जाँदा यस बारे सचेत हुनुपर्ने पक्ष पनि छ। यसबारे एकै छिनमा कुरा गरौँला। पहिला यसका परम्परावादी प्रयोजनका चर्चाबाट थालनी गरौँ। नेपालमा जातीय थरका आधारमा गठित गुठी वा संस्थाहरूले समुदायभित्र आर्थिक, सांस्कृतिक र सामाजिक सहायता प्रदान गर्नुका साथै कलासंस्कृति, धर्म र सामाजिक एकता जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उदाहरणस्वरूप, नेवार समुदायका यस्तै संस्थाले जात्रा, पूजा, वास्तुकला, संगीत, नृत्य, जातीय पोशाक र परम्परागत धर्मावलम्बनलाई पुस्तौंदेखि जीवन्त राखिरहेका छन्। त्यस्तै खस समुदायमा मस्टो परम्परा धान्न, कुलपूजा गर्न, मगर, गुरुङ, राई, लिम्बू, चेपाङ आदि समुदायमा उनीहरूका आफ्नै परम्परागत संस्कृति, नाचगान, पहिरन, भाषागत अभ्यास र चाडपर्वहरूलाई जोगाइराख्न यस्तै संस्था क्रियाशील छन्। थारु समुदायमा भाषा, परम्परा र सामाजिक अधिकारको संरक्षणमा पनि यस्ता संस्थाको भूमिका महत्वपूर्ण मात्र होइन, सराहनीय छ। यी संस्थाहरूले यसरी समुदाय विशेषका पहिचान, परम्परा र समानताको भावनासहित आ-आफ्ना कार्य गरेमा समाज सौहार्दपूर्ण र सांस्कृतिक विविधताले अझ समृद्ध हुनेछ। सन् १९९० तिर विश्वभर पहिचानको राजनीति र जागरणको लहर चलेको बेला नेपालमा पनि प्रजातन्त्रको पुनर्स्थापनापछि एकात्मक राज्य प्रणालीबाट थिचोमिचोमा परेका र दबाइएका समुदायहरूले आफ्नो हकहित र पहिचानका लागि अभियान सुरु गरे र त्यो अभियानले अहिले झनै तीव्रता पाएको छ। त्यही कारणले गर्दा अहिले बर्सेनी नयाँ-नयाँ जातमा आधारित थरका संस्थाहरू संगठित रूपले स्थापित हुने क्रम बढ्दो छ। यसरी यी संस्थाले सामाजिक सद्भाव, आपसी सहयोग, पहिचानको जगेर्ना, सुसंस्कृति र संरक्षणयोग्य परम्परालाई निरन्तरता दिएमा राष्ट्रिय समुदायमा आधारित यी संस्थाको प्रकार्यवादी भूमिका महत्वपूर्ण र प्रशंसनीय हुनेछ। जातसूचक थरमा आधारित संस्था बनाउँदा त्यसमा आबद्ध हुँदा र थरको पक्षमा बोल्दा यस बारे सचेत हुनुपर्ने पक्ष पनि छ। अब यसै विषयमा चर्चा गरौं। हामीले यदाकदा “हामी फलानो जाति/थर, आफ्नो जातिसूचक थरमाथि गर्व गरौं” जस्ता अर्थ लाग्ने भनाइ सुन्न पाउँछौं। झट्ट सुन्दा यस्ता भनाइ सकारात्मक लाग्न सक्छन्। तर गहिरिएर सोच्दा यो सामाजिक विभेदलाई टिकाइराख्ने एक खतरनाक सोच हो। यस्तो भनाइले एउटै जात समूहका मानिसलाई त केही समयका लागि खुसी बनाउला, तर यसले अन्य जात समूहलाई साना, तल्ला रूपमा हेर्ने दृष्टिकोणलाई बढावा दिन्छ। जात वा थर जन्मका आधारमा तय हुने कुरा हो, जसमा कसैको पनि कुनै व्यक्तिगत योगदान हुँदैन। समाजशास्त्रले यसलाई मानवनिर्मित संरचना मान्छ, जसले मानिसहरूबीच असमानता र प्रभुत्वको सम्बन्ध स्थापित गर्छ। मानवशास्त्रको दृष्टिकोणबाट हेर्दा पनि जात र थर जैविक होइनन्, सांस्कृतिक र ऐतिहासिक रूपमा निर्मित वर्गीकरण हुन्। जातले मानिसको योग्यता, मूल्य र क्षमतालाई निर्धारण गर्न सक्दैन। आधुनिक विज्ञान र आनुवंशिक अध्ययनले पनि सबै मानिस एउटै मानव प्रजातिका सदस्य भएको प्रमाणित गरेका छन्। मानिसबीचको भिन्नता सांस्कृतिक र भौगोलिक हुन सक्छ, तर जातीय आधारमा मान्छे ठूला-साना हुन्छन् भन्ने सोच अवैज्ञानिक हो। यस्तो सोचले हामीलाई अझै पनि विभेदपूर्ण इतिहासमा बाँधेर राख्छ, जहाँ केहीले आफूलाई उच्च जातको सन्तान ठान्छन् र अरूलाई तल्लो हैसियतमा राख्छन्। यस्तो विचार नरोकिएसम्म सामाजिक अन्याय र विभेद अन्त्य हुँदैन। त्यसैले जब यी संस्थाहरूले आफ्नो जातीय इतिहासलाई महिमामण्डित गर्दै अन्य जातिमाथि श्रेष्ठता देखाउने प्रयास गर्छन्, तब तिनीहरू जातीय भेदभावलाई संस्थागत गर्ने खतरनाक माध्यम बन्छन्। आफ्नो जातीय पहिचानलाई उच्च ठान्ने र अरूलाई निम्न देखाउने प्रवृत्तिले सामाजिक सद्भाव खल्बलिन्छ र जातीय विभाजनलाई अझ गहिरो बनाउँछ। यस्तो सोचले व्यक्तिगत क्षमताभन्दा जन्मसिद्ध पहिचानलाई प्राथमिकता दिन्छ। थरप्रतिको गर्वले मानिसमा आफू जातीय रूपमा ‘श्रेष्ठ’ भएको अहंकार जगाउँछ। यस्ता सोचहरूले पुरातन, सामन्ती सोचको जरा अझ बलियो बनाउँछ र नयाँ पुस्तालाई पनि जातीय विभेदमा अडिएको संस्कार हस्तान्तरण गर्छ। हामी साँच्चै समानताको आधारमा समाज बनाउने हो भने थरप्रति गर्व होइन, थरमार्फत गरिने विभेदको अन्त्यप्रति प्रतिबद्ध हुन जुट्न आवश्यक छ। यस समस्यालाई समाधान गर्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र समाज सुधारकहरूको मार्गदर्शनमा आधारित व्यावहारिक उपायहरू प्रस्ताव गर्न सकिन्छ। सबै भन्दा पहिले जातीय भेदभावको अन्त्य गर्नका लागि जातीय थरप्रति गर्व गर्ने सोचलाई त्यागेर व्यक्तिगत उपलब्धि र क्षमतामा आधारित पहिचानलाई प्रोत्साहन गर्न आवश्यक छ। धेरै उपाय छन्, जुन संसारका अन्य मुलुकमा सफल भएका पाठबाट सिक्न सकिन्छ। विद्यालयबाटै सुधारको थालनी गर्न सकिन्छ, किनभने लगभग प्रत्येक घरपरिवारको प्रत्यक्ष सहभागिता त्यहाँ हुन्छ। विद्यालयमा विद्यार्थीहरूको परिचयमा थर उल्लेख नगर्ने अभ्यास सुरु गर्न सकिन्छ वा यो अनिवार्य नबनाउने नीतिको विकास गर्न सकिन्छ। जातीय भेदभाव विरुद्ध लडेका व्यक्तिहरू जस्तै योगी नरहरि नाथ, डा. भीम राव अम्बेडकर, ज्योतिराव फुले, सावित्रीबाई फुले, मार्टिन लूथर किङ जुनियर, नेल्सन मण्डेला आदिका जीवन र विचार विद्यालयको पाठ्यक्रममा समावेश गरेर प्रभाव पार्न सकिन्छ। विद्यालयहरूले जातीय पहिचान होइन, राष्ट्रिय एकता, बहुसांस्कृतिकता र मानवता केन्द्रित गतिविधिहरूलाई प्राथमिकता दिनुपर्छ। सबै विद्यार्थी समान छन् भन्ने व्यवहार र संस्कार विद्यालयबाटै सुरु हुनुपर्छ। डा. अम्बेडकरले भनेझैं, जातको अन्त्य सुधारको विषय होइन, यो क्रान्तिको विषय हो। तर यो क्रान्ति हिंसात्मक होइन, बौद्धिक, सांस्कृतिक र कानुनी हुनुपर्छ। यसरी थरले अझै पनि समाजमा विभाजन र भेदभावलाई जोगाइरहेको अवस्थामा यसको प्रयोगबारे पुनर्विचार गर्नु अपरिहार्य भैसकेको छ। यसमा बौद्धिकवर्ग, अभियानकर्ता, नागरिक समाजले राज्यलाई सचेत पार्न र पुनर्विचार गर्न दवाव दिन आवश्यक छ। पुनर्विचार गर्न किन पनि आवश्यक छ भन्ने प्रश्नमा खास चुरो कुरो के हो भने नेपालमा (दक्षिण एसियाका अन्य देशहरूमा पनि) मानिसको थर (surname) ले उसको जातीय पृष्ठभूमि सिधै झल्काउँछ। जन्मसँगै दिइने थरले व्यक्ति कुन जातमा पर्छ भन्ने सङ्केत गर्छ, जुन अनेक रूपमा समाजमा विभेद कायम राख्ने मौन तर प्रभावशाली औजार बनेको छ। यो व्यवहारले जात वा थरमाथि "गर्व गरौं” भन्ने सोच कति गलत र विभेदपूर्ण छ भन्ने कुरा थप स्पष्ट बनाउँछ। जातिसूचक थरले व्यक्तिको सामाजिक हैसियत निर्धारण गर्ने परम्परागत संरचनालाई मजबुत बनाउँछ। थरले मानिसलाई जन्मसिद्ध मानिएको ‘उच्च’ वा ‘निम्न’ स्थानमा राखिदिन्छ। उदाहरणका लागि हाम्रो समाजमा प्रयोग गरिने जातिसूचक थर र सम्बोधनहरू केवल परिचयका माध्यम मात्र होइनन्, यी सामन्ती सोचको जरा गाडिएका सूचक हुन्। थरकै आधारमा कसैलाई अझै पनि “राजा”, “महारानी”, “पण्डित”, “साहु”. "काजी" जस्ता शब्दले सम्बोधन गरिन्छ भने अर्कोतर्फ कसैको थरलाई नै बिगारेर त्यसको थरका आधारमा तिरस्कारपूर्ण सम्बोधन गरिन्छ। यसरी यी थरले जन्मका आधारमा कसैलाई माथिल्लो र कसैलाई तल्लो बनाउने सामन्ती संरचनालाई बल दिइरहेका छन्। अझ दुःखको कुरा त के छ भने यी थरमार्फत भेदभावपूर्ण मानसिकता बाल्यकालदेखि नै पुस्तान्तरण हुँदै आएको छ। त्यसैले जबसम्म जातिसूचक थर र सम्बोधन हाम्रो सामाजिक व्यवहार र संस्थागत संरचनामा जीवित रहन्छन्, तबसम्म हाम्रो समाज सामन्ती सोच, विभेद र असमानताको चक्रमा घुमिरहनेछ। अब त्यो समय आएको छ, जहाँ थर होइन, मानवीय मूल्य र व्यक्तिगत पहिचानलाई आधार बनाएर सामाजिक सम्बन्ध निर्माण गरिनुपर्छ। जातिसूचक थरको मोह त्यागेर समानताको मार्ग अँगाल्नु नै समावेशी र न्यायपूर्ण समाज निर्माणको पहिलो पाइला हो। अब एक थरीको धारणा के छ भने थर नलेख्दा हाडनाताभित्र विवाह हुन सक्ने खतरा हुन्छ भन्ने तर्क पनि छ। यो तर्क सतही रूपमा ठीक देखिए पनि आजको युगमा यो वैज्ञानिक र सामाजिक रूपमा उपयुक्त समाधान हुँदै होइन। जातिवादमा आधारित युगमा यो विधिले काम गरेको थियो होला, तर आधुनिक समाजमा यो समस्या समाधान गर्न थर लेख्नुभन्दा धेरै विश्वसनीय र धेरै उपाय उपलब्ध छन्। आजको युगमा प्रत्येक नागरिकको विस्तृत व्यक्तिगत विवरण सरकारी अभिलेखमा सुरक्षित हुन्छ; जस्तै जन्मदर्ता, नागरिकता, राष्ट्रिय परिचयपत्र आदिमा। सम्बन्धमा रहनुपूर्व वा विवाहपूर्व यी कागजातहरू हेरेर पनि जाँच्न सकिन्छ। थरलाई सांस्कृतिक पहिचानको रूपमा राख्न चाहनेहरूले चाहिँ यसलाई जातीय श्रेष्ठताको आधार नबनाई केवल पारिवारिक चिनारीको रूपमा लिने अभ्यास गर्न सकिन्छ। त्यसका लागि थरलाई वैकल्पिक तर गैरजातीय ढंगले राख्न सकिन्छ; जस्तै भूगोल, मातापिताको नाम वा व्यक्तिगत छद्म नामहरू प्रयोग गर्ने अभ्यास जुन इन्डोनेसिया, आइसल्यान्ड, मलेसिया जस्ता देशहरूमा देखिन्छ। खासमा थर नलेख्दा हाडनाताको खतरा हुन्छ भन्ने डर केवल जातीय भेदभाव टिकाउने बहाना हो। विज्ञान, प्रविधि र कानुनी संरचना प्रयोग गरी हाडनाताको सम्भावनालाई पूर्णतः नियन्त्रण गर्न सकिन्छ।