Monday, December 13, 2021

 जुम्ली मार्सी धान

हामी केटाकेटी छँदा जुम्ला राज्यतिर एउटा आन खुपै सुनिन्थ्यो:
"कात्तिक उँधो लाग्या जुम्ली चैत नफि-या मरिगो भनी जान्नु।"
यसको सिधा माने हो, कात्तिकको महिनामा तलतिर झरेको जुम्ली चैतको महिनासम्म पनि घर फर्केन भने ऊ मरेछ, अब फर्किन्न।
यसलाई सप्रसंग त्यो समय, स्थान र परिस्थिति अनुसार अल्लि बिस्तारमा अर्थ्याउन प्रयास गरौँ। जुम्ली भनेको अहिलेको प्रशासनिक इकाइ जुम्ला जिल्लाका वासिन्दा होइनन् । इतिहासमा जुन बेला "जुम्ला राज्य" थियो त्यो जुम्ला राज्यका सबै वासिन्दालाई जुम्ली भनिन्थ्यो। बूढापाकालाई थाहा छ, जुम्ला राज्यमा ११ पहाड र ११ वटा नदीका पाखा र बेंसी भएकाले पहिले जुम्लालाई "२२ पाखा" पनि भनिन्थ्यो । अनि जुम्ली जनतालाई "बाइस पख्याली" भनिन्थ्यो। हामी साना छँदा सुर्खेतका फाँटमा हिउँद लागेपछि उपल्लो हिमाली भेगबाट त्यताका वासिन्दाहरु भेँडा लिएर झर्दथे। उनीहरु हामी सुर्खेतीलाई आफूलाई जुम्ली भनेर चिनाउँथे। हाम्रै घरछेउमा बस्नु भएका एक जना जुम्ली बाले वहाँको घर ठेगाना सोध्दा मुगुको रुम गाउँ बताउनु भएको थियो। हालसालै म वहाँको त्यो "जुम्ला राज्य"को रुम गाउँको घर मै पुगेको छु ।
जुम्ला राज्यमा कात्तिक लागेपछि जाडो हुने भएकाले जाडो छल्नुका साथै व्यापार गर्न, भेँडा चराउन, सामान सरी/दुने गर्न (साटासाट गर्न) र पैसा कमाउने आदि काम गर्न उँधो अर्थात् अहिलेका जाजरकोट, दैलेख, सुर्खेत नेपालगन्ज, बर्दिया, कैलालीतिर झर्ने चलन थियो। फेरी चैत लागेपछि उँभो अर्थात् घर फर्किने चलन थियो ।
चैतमा नै किन फर्किने त घर ? चैत लागे पछि गर्मी हुने, गर्मी खप्न गाह्रो हुने, औलो लागेर मरिने डर हुने आदि कारण त हुँदै भए । तर मुख्य कारण थियो, खेती गर्न फर्किनु। त्यो पनि धान खेती । खासमा त्यो भेगमा खास प्रकारको धानको ब्याड राख्ने, रोप्ने, गोड्ने, काट्ने र चुट्ने काम चैतदेखि सुरु भएर कात्तिकसम्ममा पूरा हुन्छ।
अब त्यही खास प्रकारको धान को चर्चा सुरु गरूँ । अहिले जुम्ली मार्सी धान देशैभरि सबैले चिन्दछन्। विशेष गरेर राजनीतिलाई भ-याङ् बनाएर काठमाडौँमा हालै उदाएका नवधनाढ्यहरुले 'जुम्ला राज्य'बाट मार्सी मगाएर खाने गरेपछि मार्सीको प्रसिद्धी चुलियो। अहिले काठमाडौँको भान्सामा मार्सी पाक्नु मार्सीको "सेकेन्ड वेभ" अर्थात् दोश्रो लहर हो। काठमाडौँमा मार्सीको "पहिलो लहर" राणा प्रधानमन्त्रीको भान्सामा चलेको थियो।
कुरो उठ्छ, यो चिसो ठाउँमा धान खेती कसरी सुरु भयो होला? ऐतिहासिक तथ्य अनुसार दशौं शताब्दीतिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनी जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । जुम्ला पुगेको जो कोहीले देख्नुहुन्छ; बजारको तल्लो भाग र तिलाको उपल्लो काखमा चन्दननाथको मन्दिर छ । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गएको हो। उनै चन्दननाथले कश्मिरबाट मार्सी धानको बिउ ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाका कुनै पानी लाग्ने ज्युलामा रोपिएको थियो। ज्यूला भनेको धान लाग्ने खेत हो। अहिले जुम्ला राज्यमा थुप्रै ज्युला नामका ठाउँ छन् । जुम्लामा सिंजा उपत्यकाको कुनामा रारा जाने बाटोमा पर्ने गोठिज्युला प्रख्यात छ । पछि जुम्लाकै छुमचौरजस्तो २८०० मिटर भन्दा अग्लो ठाउँमा पनि यो मार्सी धान फल्यो र संसारकै अग्लो ठाउँमा फल्ने धान भनेर चिनियो । अहिले यसको माग बढेर यस धानको खेती गर्ने चलन फेरि बढेको छ।
मार्सीका बिभिन्न जात छन्। कालीमार्सी र राती मार्सी आदि। मार्सीको चामल गाढा रातो/खैरो रंगको हुन्छ । यसको भात थोरै खाँदा पनि यो निकै आड़िलो हुन्छ। स्थानीय ढिकी वा हाते मुसलमा कुटेको मार्सीमा प्रसस्त रेसा हुने भएकोले पकाउँदा अल्लि गिलो हुन्छ तर स्वादिलो हुन्छ। काठमाडौँमा कतिपयको भान्सामा आइपुगेको रातो चामललाई केहीले मन नपराएर मोटो, साह्रो र अरठ्ठो भनेको सुनेको छु। खास कुरो के भने सबै उताबाट आउने रातो देखिने चामल मार्सी होइनन् । मार्सी अहिले त्यति धेरै खेती गरिंदैन र सबै ठाउँमा हुँदैन पनि। उताबाट आउनेलाई "ल है मलाई मार्सी कोसेली ल्याइदिनू!" भन्नेलाई जुम्लीले (जुम्ला राज्यकाले) जानी जानी वा नजानेर अर्कै चामल भिडाई दिएकाले पनि त्यो प्रतिक्रिया आएको हो। मुगुका खोँच र बेंसीमा पनि यही मार्सी जस्तै धान फल्छन् र रारा घुम्न जानेले यही रातो चामलको भात मार्सी भनेर खान्छन् । वास्तवमा यो मार्सीकै "साइनो" पर्ने भत्तालो जातको धानको चामल हो । सयौँ बर्षदेखि काठमाडौँबाट ठगिएको जुम्ला राज्यले मार्सीमा झुक्याउँदा हल्का रमाइलो नै हुन्छ।
त्यसो त प्रसंगबस मैले जुम्लामा नै सुनेको एउटा कथा भनी हालूँ, जुम्लीहरु व्यापार गर्न खप्पिस! भारतका सहरका गल्लीमा जुम्लाको सिलाजित प्रख्यात रहेछ। हाम्रा जुम्ली दाजुभाइलाई देख्ने बित्तिकै "सिलाजित है भाइसाप?" भनेर सोध्दा रहेछन्। सिलाजित भएका जुम्लीले महँगो दाममा सिलाजित नै बेच्दा रहेछन् । नभएकाले पनि "हां मेरे पास हैं। रुको। मैं वहाँ अपने कमरे में जाता हूँ और लाता हूँ" भनेर अल्लि पर गएर नाक कोट्याएर, आङको मयल सोरेर डल्ला पारेर देखाउँदै "ये लो सिलाजित!" भनेर बेच्दा रहेछन्।

No comments:

Post a Comment