Monday, December 13, 2021

 गोसाइँकुण्ड यात्रा

म यसपटक गइनँ भने यस पटकलाई मात्र होइन पटक पटकलाई अन्य यात्रामा पनि साथीसँगीको टोलीबाट छुट्दछु भन्ने लाग्यो र २ हप्ता अगि व्यवहारिक कारणले रद्द गरेको योजना यात्राको अगिल्लो दिन सदर गरेँ । यात्रा टोलीका सदस्य काठमाडौँ, चितवन र हेटौँडाका भएकाले नुवाकोटको विदुर बजारमा बिहान १० बजे जम्मा हुने सल्लाह भयो । भनेकै समयमा सबै जना विदुरमा जम्मा भयौँ । टोलीमा जम्मा ६ जना । बाटोमा खाना के कसो हुने हो भनेर अच्युत पौडेलले सुखद पाहुना घर नामको होटेलमा सम्पर्क गर्दा खाना पाक्न कम्तिमा १ घण्टा लाग्ने जानकारी दिएपछि हामीले आँखा अघिल्तिरै सडक छेउको भात पाकिरहेको छाप्रोमा सोध्यौँ, "छ जना छौँ, खाना तयार छ ? खुवाउनुहुन्छ ?"
"पस्किहाल्छु नि !" उत्तर आयो ।
दाल, भात, तरकारी र अचार । सबैले थपिथपी खायौं । त्यसो त खानाले हाम्रो पेट मात्र भरिने हो, हाम्रो तिर्खाएको आत्मा भरिने हामीले तय गर्ने यात्राले हो । अब हाम्रो छ जनाको पूरा टोली यात्रालाई निरन्तरता दिन स्कोर्पियो चढेर धुन्सेतिर लाग्यो । हाम्रो यात्राको लक्ष गोसाइँकुण्ड । तर यसको अर्थ गोसाइँकुण्ड पुगेपछि मात्र हाम्रो यात्रा सार्थक हुने भन्ने होइन । हामीले यात्राका हरेक क्षणलाई रमाइलो बनाइरहेका थियौँ । हामी सबै आआफ्नो पट्यार लाग्दो तालिकावद्ध दैनिकीबाट थोरै दिनको लागि भए पनि भागेकाले यो निकासले हामी सबैलाई राहत दिइरहेको थियो ।
रमाइला कुरा, ठट्टा र नयाँ घुमफिरका योजना बुन्दाबुन्दै पौने ११ बजे बेत्रावती पुगियो । वि.सं १८४९मा नेपाल –तिब्बत युद्ध अन्त्य गर्न बेत्रावती सन्धि यही ठाउँमा भएको थियो । त्रिशुली, फलाँखु र सलाँखुको त्रिसंगम मानिने बेत्रावती धार्मिक स्थल पनि हो । पौराणिक कथा अनुसार देवता र दानवहरुले एक पटक समुद्र मन्थन गर्दा संसारै नास गर्ने विष निस्कियो र संसारलाई जोगाउन शिवजीले उक्त विष खाइदिए । विषको जलनले छट्पटिएर बेतको लौरो र त्रिशुल लिई समुन्द्र मन्थन स्थलबाट रन्थनिएर यहाँ आइपुग्दा शिवजीले बेतको लौरीले पहाड खोपी पानी निकालेर पिए । यसरी बेतको लौरीले खोपेपछि पानी निस्केर बगिरहेको ठाउँलाई पछि बेत्रावती नदी भनियो भन्ने किम्वदन्ती छ ।
भर्खर सुरु भएको यो यात्रा नटुङ्गिदै अच्यूत पौडेलले अर्को यात्राको योजना बुन्न तिर्थ कार्कीलाई जिम्मा दिनुभयो, "बेत्रावतीमा पानी पिएपछि शिवजी गोसाइँकुण्डमा केही समय सुस्ताएर कैलाश गएका हुन्; हामी पनि यसपछि कैलाश पुग्नु पर्छ !" भोटो फटाल्दै गर्दा विवेक बढ्दै आउँदो रहेछ; यात्रा गर्दै जाँदा धेरै कुरा बुझिँदै गइँदो रहेछ । उमेर ढल्किदै जाँदा पदयात्राहरु कठिन हुँदै जान्छन् । अन्जन पौडेलको टिप्पणी आयो, "यही ज्ञान अझ पहिल्यै आइदिएको भए ! जे होस् स्वास्थ्य ठिक छँदै कठिन खाले पदयात्रा गर्नु पर्छ । मलाई पनि त्यो कैलाश जाने सूचीमा नछुटाउनू !"
२ बजे धुन्चेबाट हाम्रो पद यात्रा सुरु भयो । घट्टेखोला पुगेर ठाडो उकालो सुरु भएपछि हाम्रो टोलीका सबै गम्भीर भए । बिस्तारै सल्लाघारीलाई कुहिरोले लुकाउँदै गयो । तलबाट माथितिर लाग्नेको लर्को; त्यस्तै माथिबाट तल झर्ने यात्रीको लर्को । तलबाट उक्लदै गरेकालाई हामीले बास बस्न कहाँ पुग्ने हो भनेर सोध्यौं भने माथिबाट तल झर्नेलाई अब देउराली पुग्न कति समय लाग्ला भएर सोध्ने गर्थ्यौं । कसैले १ घण्टा भन्थे त कसैले २ घण्टा ! प्रत्येकले फरक फरक उत्तर दिन्थे । तर सबैले हाम्रो यात्रालाई हौसाउँथे । यात्राले मानिसलाई नम्र र नजिक बन्न सिकाउँदो रहेछ । "तपाईँ कहाँबाट नि ?" जस्ता सवाल जवाफ गर्दै विश्रामको थलोमा भेट भएकासँग सामान्य भलाकुसारी हुन्थ्यो ! नयाँ ठाउँ; नयाँ अनुहार । जान्न चिन्न धेरै कुरा छन् संसारमा । तर पनि एकै छिनमा सबै परिचित र आफ्नै लाग्ने । धेरै युवायुवती र वयस्कहरु काठमाडौँ र यसको सेरोफेरोबाट आएका भेटिए । हामी जति माथि लाग्यौँ उति गाह्रो । धेरैजसो यात्रुहरु नयाँ दृश्य भेट्ने बित्तिकै खुसी हुँदै फोटो खिच्न र आफ्नो समेत फोटो लिन व्यस्त देखिन्थे । हुन पनि खुसी भनेकै यात्राका प्रत्येक क्षणमा भेट्टाउने हो । खुसी कुनै लक्ष नभएर आफैमा यात्रा हो । जसले प्रत्येक क्षण रमाउन जान्दछ, ऊ खुसीसाथ सुखले बाँच्दछ ।
हाम्रै टोलीका एक जनाले भन्नुभयो, "मलाई त नेपालका सबै पहाड उस्तै लाग्छ !" मैले भद्र बिमति जनाएँ, "यात्रामा कुनै पनि ठाउँ 'यो सुन्दर ठाउँ हो' भन्ने संकेत पाटी राखेर चिनाइएका हुँदैनन् । सुन्दर ठाउँ सुन्दर हृदयले देख्ने र बनाउने हो । कतिपय कुरा भित्री आँखाले देख्ने हो ।
उकालोको हिँडाइ सहज पटक्कै थिएन । त्यसमाथि बर्षा । हामीहरु हिँड्दै जाँदा आफ्नै टोलीका सदस्य छुट्टिन जान्थ्यौँ । बाटामा भेटिएका नयाँ अनुहारसँग गफ्फिदै जाँदा नयाँ मित्रता गाँसिने । फेरी उनीहरुसँग छुट्टिने, र फेरी भेट हुन्छ कि भनेर फर्की फर्की हिँडिने । यात्रा र जीवन उस्तै उस्तै । हाम्रो जीवन पनि त अनन्त यात्रा हो । हामी एक अर्कालाई भेट्न रोकिन्छौँ । माया र सद्भाव बाँड्छौँ । र फेरी छुटिन्छौँ । भेट हुने आसमा फेरी मिलनका क्षण कल्पिन्छौँ । यसरी कुनै भेट अमेट रहन्छन् ।
दिउसोको ५ नबज्दै देउराली पुगियो । भोलिपल्टको यात्रा सहज र छोटो बनाउन अझ अघि बढेर बास बस्न उचित ठान्यौं । सयौँ यात्रुलाई बाटोमा बनाइएका थर्पु (छाप्रा)हरुमा बास पाउन सहज थिएन । हामीले ढिम्सामा थर्पु बाहेक एउटा होटेल पनि भएको सुचना पाएका थियौँ । ढिम्साबाट १ घण्टा अगाडि हिँडे चन्दनबारी पुग्न सकिन्छ । हामीले ढिम्सामा बस्ने योजना बनाइसकेका थियौं तर हिँड्दा एक छिन सँगै हुनेहरुलाई हामी पनि चन्दनबारी नै पुग्ने हो भनेका थियौँ । ढिम्साको होटेलमा कोठा अरुले नै अगि पुगेर नओगटोस् भनेर ! मानिसको स्वभाव अलिकति स्वार्थी नै छ ।
xxx
बाटा भरी आधा आधा घन्टाको दुरीमा पालले मोडेका लामा लामा टहरा वा थर्पु भेटिए । थर्पुको मुखैमा खाना र खाजा पाकिरहेका देखिने । भित्र दोहोरो सुत्न मिल्ने लामो सुरुङ्गजस्तो कतिपय टहरामा १/२ सय यात्री लहरै सुत्न अटाउने । प्रत्येक थर्पुको अगाडी थर्पु नम्बर लेखिएको । थर्पु नम्बर १ तल बेँसीको घट्टेखोलामै भेटिएको थियो । बाटा भरीका यी थर्पुले गोसाइँकुण्डमा जनैपूर्णिमामा विशेष मेला लाग्ने भएकाले मेला भर्न जाने हजारौँको भिडलाई थामिनसक्नु थियो । ६ बजे ढिम्सा पुग्दा पहिल्यै सुचना पाए अनुसारै थर्पुहरुको बिचमा एउटा होम्स्टे नाम जोडिएको होटेल पनि भेटियो । थर्पुमा सुत्न गाह्रो मानेर भन्दा पनि सौचालयको सुविधाको लागि हामीले होटेलको लागि सङ्घर्ष गरेका थियौँ । भाग्यवस् हामीले २ वटा साना कोठा पायौँ । प्रत्येकमा ससाना २ वटा खाट । हामी छ जना २ वटा कोठामा अटाउनुप-यो । खाना खाइवरी दुइटा खाट सँगै जोडेर बल्लतल्ल तेर्सोमुखी ३ जना पल्टिन अटायौँ । जेनतेन अलिअलि निदाएर उज्यालो भयो । हिसाबकिताबको बेला भयो । कोठाको मुल्यको कुरै नगरौँ; काठमाडौंका विलासी होटलको भन्दा चर्को मुल्य तिर्न प-यो । बाँकी पैसा तिर्दा साहुले भने, "फर्केर आउँदा एउटा कोठाको हजार मात्र तिर्नु होला ! ऐले मेलाको बेला त यस्तै हो !" महँगो तिर्नु पर्दा भन्दा पनि अन्याय र विवशताले मन अमिलो बनाउँदै बिहानै चिया खाएर हामि उकालो लाग्यौँ । मन अमिलो हुँदाहुँदै हाम्रो जीवनको यात्रा पनि त यही गोसाइँकुण्डको उकालो र साना कोठाको बसाइ जस्तै हो । बाटो र बास जस्तो भएपनि गुजार्नै पर्छ । रातभर निदाउन नसकी कठिन रात बिताउन परे पनि हामीले खुसी हुने कारण भेटेका थियौँ: दुबै कोठामा जोडिएका ट्वाइलेट थिए । जीवनको कठिन यात्रामा पनि खुसी हुन यस्तै कारण फेला पार्ने हो भने जीवन रमाइलो हुन्छ ।
बाटोमा सिन्धुपाल्चोकबाट आएका एकजना तिर्थालु भेटिए। "गोसाइँकुण्ड सम्मको यात्रा हो नि ?" मलाई सोधे । मैले "हो !" भनेँ । धेरै मानिसले लक्षकै कुरा गर्छन् । खासमा मलाई गोसाइँकुण्ड पुग्नु एउटा निउँ थियो र बिचका सबै ठाउँ चिन्नु र रमाउनु नै मेरो रहर थियो । यो यात्रामा मैले कुल्चेका यी ठाउँलाई मैले फेरी उस्तै रुपमा कहिल्यै टेक्न पाउँला र ? प्रत्येक ठाउँसँग नाता जोड्दै र स्मृतिपटमा छाप छोड्दै अघि बढ्ने हो । लक्षमा पुगेपछि सिद्धिहाल्यो नि ! रमाउने प्रत्येक क्षण र पाइलामा हो; जीवनमा होस् वा यात्रामा । त्यसो त जीवनको अर्को नाम यात्रा हो ।
१ घण्टाको ठाडै उकालो काटेपछि ३३५० मिटर उचाइमा रहेको चन्दनबारी पुगियो । स्कन्दपुराणमा वर्णन गरीए अनुसार बेत्रावतीबाट यही चन्दनाचल (चन्दनबारी) बाटो गरी शिवजी गोसाइँपहाड पुगेका थिए । स्थानीयहरू यस चन्दनाचललाई सिङ्गोम्पा भन्दा रहेछन् । यहाँबाट गोसाइँकुण्ड सजिलै १ दिनमा पुगिने भएकोले धेरैजसो मानिसहरु बास बस्न यहीँ आइपुग्दा रहेछन् । यहाँ अरु ठाउँमा भन्दा धेरै र व्यवस्थित देखिए थर्पुहरु । त्यसो त कतिपय थर्पुमा 'रेस्टुरेन्ट र होटेल'का साइनबोर्ड झुन्ड्याइएका थिए । बिहानको खाजा खान हामी 'थ्री स्टार रेस्टुरेन्ट'मा छि-यौं । हामी बस्नासाथ ३ जना महिला हाम्रै टेबलमा आउनुभयो । एक जनालाई कुर्ची पुगेन। मैले खोजेर वहाँलाई पु-याएँ । मान्छेलाई खुसी हुन के ठूलो कुरो चाहिन्छ र ! थाकेको बेला कुर्ची खोज्न समेत हम्मे परेको बेला उभेकै नेर कुर्ची पु-याउँदा वहाँले मलाई धन्यवाद होइन आशिष नै दिनुभयो ! हामीले सामान्य चिनाजानी ग-यौं । हामीले आलुकेराउको तरकारी मगाएको देखेर वहाँहरुले पनि तरकारी नै मगाउनु भयो । आफ्ना झोलाबाट चिउरा झिक्दै भन्नु भयो, 'हाम्रो टोलीसँग त डब्बा डब्बामा अचार गुन्द्रुक के के खाने कुरा छन् के के !" "अनि के भयो त ?" मैले मुख रसाऊँदै सोधेँ । "के हुनु नि ! त्यही डब्बा बोक्न नसकेर बोक्नेहरु सबै पछि पर्नु भयो ! हामी त हल्काफुल्का भएर अघि आएका !" म हिस्स भएँ ! यात्रामा बोकिने भारीको कुरा गर्दा अंग्रेजीमा एउटा वाक्यांश छ, 'ट्राभल लाइट' अर्थात् 'हल्काफुल्का भएर यात्रा गर ' । यसको अर्थ 'गरुङ्गो झिटिगुन्टा नबोक' मात्र नभएर 'यात्रामा तनाव, कामको बोझ, रिसराग, इर्ष्या आदि केही पनि नबोकी बिन्दास बनेर यात्रा गर' पनि हो । वहाँहरु तीनै जना बिन्दास देखिनु हुन्थ्यो । वहाँहरुसँग एकछिन गफ्फेपछी विदा मागेर रेस्टुरेन्टबाट निस्कने बेलामा चाल पाइयो: त्यो रेस्टुरेन्टको नाम 'थ्री सिस्टर' रेस्टुरेन्ट पो रहेछ ! भोकले हो कि अन्य कारणले आँखा तिरिमिरी भएर हो; अगि 'थ्री स्टार' पढिए छ । किन हो कुन्नि, यहाँ अरु होटेल/रेस्टुरेन्टले पनि थ्री सिस्टर नाम जोडेका थिए ।
१ घण्टा जतिको हिंडाइमा चोलाङ्गपाटी पुग्यौँ । चोलाङ्गपाटी यो मार्गमा पर्ने सानोतिनो बजार नै रहेछ । पहाडको छात्तीमा टाँसिएको यो ठाउँ सुन्दर छ । कतिपयलाई लाग्न सक्ला; वाह ! भन्ने के चिज छ र यी काला पत्थरे पहाडमा ! हामीले सुन्दरतालाई आफूसँगै लैजानै पर्छ सुन्दरता फेला पार्न । नत्र संसारभर यात्रा गरे पनि सुन्दरता मरे फेला पार्दैनौं । सुन्दर ठाउँमा अड्केर बस्ने सुविधा हामीलाई थिएन । यहाँबाट उकालो लागेपछि डेढ घन्टामा लौरीविनायक पुगिँदो रहेछ । बाटोमा कतिले यो ठाउँको नाम लौरीविनायक भने तर ठाउँमै पुग्दा होटलका साइनबोर्डमा 'लौरीबिना' लेखेको भेटियो । यसको पनि सहजै अर्थ लाग्दछ । 'लौरी'बिना र उकालोको सम्वन्ध हुने नै भयो । स्कन्दपुराणमा वर्णन गरिए अनुसार नीलकण्ठ दह (गोसाइँकुण्ड) बनेपछि पानीमा आराम गरेका शिवले गोसाइँकुण्डको रक्षार्थ दहको पश्चिममा गणेशलाई लौरीविनायक रुपमा दह द्वारको रक्षार्थ द्वारपाल बनाएर खटाए । स्कन्दपुराण अनुसार लौरीविनायकको आज्ञा लिएरमात्र देवताहरु कुण्ड क्षेत्रमा प्रवेश गर्न पाउँछन् । पछि यस ठाउँको नाम नै लौरीविनायक रहन गयो ।
थाकेर लौरीविनायक पुग्दा ११ बजिसकेको थियो । यहाँ पनि होटेलहरु रहेछन् । हामी माया होटेलमा छि-यौं र खाना खायौँ । ३९५० मिटर उचाइमा खाना खाइवरी आराम गर्दा झमझम परेको पानीले हल्का जाडो गरायो । मैले त्यही होटलमै बेच्नलाई प्रदर्शन गरिराखिएको गोसाइँकुण्ड अङ्कित ऊनको टोपी किनेँ । अच्युत पौडेल र दिवाकर पुडासैनीले पनि किन्नु भयो । भोकले हो वा जाडोले हो; वा माया होटेलको मायाले हो कुन्नि ! खाना मिठ्ठो भएको थियो । काउन्टरमा अङ्ग्रेजीमा लेखिएको थियो, "केही मानिसहरुको अनुसार पुरुषले भन्दा महिलाले धेरै 'टिप्स' दिन्छन् ।" मेरो मनले भन्यो, "त्यसो भए महिलालाई किन उछिन्नु ?" यो प्रस्तावनालाई गलत सावित गर्न मेरो मनले मानेन । अरुको मन पनि मानेन सायद, लोभले गर्दा ! त्यही काठको पाटीमा अर्को कथन पनि लेखिएको थियो (तल फोटोमा हेर्नोस्), "तपाईं जिउने एक पटक हो । त्यसैले खुसी रहनुहोस् । यो तनावरहित क्षेत्र हो ।" हुन पनि यहाँ रहँदा हामी सबै तनावमुक्त भएका थियौँ । तर हरेक कुराको सिमा हुन्छ । अब यहाँबाट नहिंडे साँझसम्म गोसाइँकुण्ड पुगिएन भने तनाव त नचाहे पनि भैहाल्छ ! पानी पानीमा यात्रा सुरु भयो । अब अगाडिको अडिने ठाउँ ४२०० मिटर उचाइमा रहेको बुद्ध मन्दिर । होटेलमा कोहीले भन्दै थिए, "अब भने होस पु-याउनुपर्छ, लेक लाग्न सक्छ; लसुन झोलाको मुखमै राख्नुपर्छ ता कि टाउको दुख्यो र असजिलो भयो भने झिक्न सजिलो हुन्छ !" यो कुरालाई ठाडा ठाडा कान परेर सुनेका हाम्रो टोलीका झस्केका एक सदस्यलाई मैले सम्झाएँ, "लेक लागेर मरिन्छ कि भनेर यात्रा गर्न डराउने हो भने एकांकी निरस जीवनले झनै भित्रभित्रै गलाएर मार्छ ।" साँच्ची भन्ने हो भने जीवनको एकांकीपना बढो घातक हुन्छ; यात्राको पिंडा गाह्रो भए पनि रोमान्चकारी हुन्छ र जीवनमा थप जीवन भरिदिन्छ । स्वास्थ्यबारे चनाखो र होसियारी अपनाउनु पर्छ, तर डराउनु हुँदैन । त्यसो त हाम्रो टोलीमा अन्जन भाइले लसुन कागती र खानेकुराको राम्रै बन्दोबस्त गरेर आफूलाई नै थिच्ने गरी झोला भरेर ल्याएका रहेछन् । हामी ढुक्क बन्यौँ ।
xxx

डेढ घण्टामा लौरीविनायकबाट वुद्ध मन्दिर आइपुगियो । बुद्ध मन्दिरबाट अगाडि लागेपछि केही बेरमा घामले डढेर खरानी घसे जस्ता देखिने फुस्रा चट्टाने पहाडको काखैकाख लागेपछि पारि भित्तामा गोसाइँ पर्वतमाला देखिन्छन् । "ऊ! त्यो तल देखिने सरस्वतीकुन्ड हो; माथिल्लो भैरवकुण्ड । गोसाइँकुण्डको पानी झरेर भैरवकुण्डमा आउँछ। अब बढीमा आधा घण्टामा तपाईँहरु पुगिहाल्नुहुन्छ ।" गोसाइँकुण्ड दर्शन गरेर फर्किदै गरेका एकजना तिर्थालुले यति भनेपछि तिर्थ कार्की, अच्युत पौडेल र मैले पछाडि छुटेका साथीलाई पर्खने निर्णय ग-यौँ र कुण्ड पुग्नु अगिको अन्तिम थर्पुमा ३ कप कालो चिया मगायौँ । साथीहरु आइपुगेपछि तिर्थ कार्कीले आधा कप टर्रो चिया नखाइकन पैसा तिर्नु भयो । मैले भने, "२५ रुपियाँको चिया त छोडिदिनु भयो नि !"
एक छिनको तेर्सो हिँडाइ र अन्तिम ढिस्को उक्लेपछि गोसाइँपर्वतको फेँदीमा पिपलपाते आकारको गोसाइँकुण्ड (ताल) देखियो । पारि माथि लामटाङ हिमाल । सामुन्ने वरिपरि अजंगका चट्टाने पहरा । बीचमा कञ्चन जलले भरिएको गोसाइँकुण्ड । समुन्द्र सतहदेखि ४३८० मिटरको उचाइमा । "आइपुगियो, सकिन्न कि भनेकी थिएँ मैले त बिच बाटामा !" काठमाडौँबाट आएकी र यात्राको अन्तिम २ घण्टामा चिनजान भएको र हिँड्दा पटकपटक अघिपछि परेकी एउटी अधबैंशे महिलाले भनिन् । "ठिक दिशातिर फर्केपछि गन्तव्य नपुगी सुखै छैन । एउटा कुरा चाहिँ गर्नुपर्छ । हिँड्नुपर्छ ।" मैले ठट्टिँदै भनेँ । उनी थकाइमिश्रित सफलताको सुखानुभूतिले रक्तिम गालाका पसिना पुछ्दै मुस्कुराइन् । हामी सबै रमायौँ । गन्तव्यमा आरामसाथ आइपुग्नु खुसीको कुरो हो, त्यो भन्दा पनि खुशी मलाई केमा लागेको थियो भने हामी यहाँसम्म आइपुग्दाका प्रत्येक क्षणलाई अर्थपूर्ण, विनोदपूर्ण र रमाइलो बनाउन सकेका थियौँ । हामी कसैमा यात्राबारे पश्चातापको लेस थिएन । तालतिर झर्ने बाटोको मुखमा केही होटेल र दर्जनौँ थर्पुहरु । तालका किनारामा तीर्थालुले ढुङ्गा ठड्याएर बनाएका शिवाकृति । तालको काखमा शिवमन्दिर । शिवमन्दिरलाई रंगीबिरंगी वौद्ध ध्वजा-पताकाहरुले ढाक्ने गरी सजाइएका । मन्दिर अघिल्तिर आकास चुम्ने लिङ्गोमा वौद्ध मन्त्र अङ्कित ध्वजा फर्फराइहेका । हिन्दु शिव मन्दिरको मात्र कल्पना गरेको मैले सोचेको भन्दा फरक दृश्य देखेपछि नजिकबाट हेर्न र बुझ्न मन उद्वेलित भयो । तर बास बस्ने बन्दोबस्त नगरी तल झर्ने कुरो भएन ।
होटेल चहार्दा कोठा पाइएन । थर्पुहरु भरिभराउ । एउटा होटेलसँग बल्लतल्ल २/२ जनासम्म अटिन सक्ने दुईटा साह्रै साना टेन्ट ६ जनालाई १ रात बासको लागि टुंगो लगाइयो । मोलको उचाइबारे भने कुरै नगरौँ । साथीहरु लस्त थाकेको हुनाले टेन्टमै बस्ने भन्नुभयो । खासमा तिर्थ कार्कीलाई राम्ररी जानकारी हुँदाहुँदै पनि बाक्लो ज्याकेट ल्याउन हेल्चेक्राइ गर्नुभएछ । जाडोको कारणले पनि वहाँ निस्कन चाहनु भएन । अरुलाई सँगसँगै अल्छी लाग्यो । म सुत्न भाग परेको टेन्टमा म निस्केको कारणले तीर्थ कार्की र अच्युत पौडेल मात्र भएकाले वहाँहरुलाई सुस्ताउनको लागि पल्टिन पनि मिलेछ ! अर्को टेन्टमा तीन जना दामोदर, अन्जन र दिवाकर खुट्टा खुम्च्याएर डल्लो परे ।
हामी कोही तीर्थयात्री कोही पदयात्री एउटै यात्रामा भएपनि । हाम्रा आ-आफ्नै ध्याउन्न थिए । म मन्दिर र कुण्डतिर लागेँ । मन्दिर पुग्नासाथ एकजना युवकले छुर्पी बाँड्दै आए र मलाई पनि दिए । अर्का भाइ आएर चकलेट दिए । मन्दिर वरिपरी आधा पुरुष र आधा महिलाको समुहले तामांग भाषामा सेसे बोन्पो गीत नाच्दैगाउँदै मन्दिरलाई परिक्रमा गरेको दृश्य बढो मनमोहक थियो । मैले एकजना प्रौढबाट बुझेँ: तामाङ संस्कार अनुसार पितृहरुको तृप्तिको लागि यसरी छो अर्थात् प्रसाद (छुर्पी, चकलेट आदि) बाँडिदो रहेछ । यसरी यो मेलामा सेसे बोन्पो नाच्दा मनले चिताएको पुग्ने तामाङ समुदायको विश्वास रहेछ । तामाङ जातिका लामाले मरेर गएकाहरुको शान्तिको कामना गर्दै बत्ती बाल्ने, लुङ्दर चढाउने, कोरछ्याङ (दान) गर्ने गर्दा रहेछन् । गोसाइँकुण्डमा स्थित उही एउटै आस्थाको प्रतिकलाई हिन्दुहरुले देवादिदेव शिवजीको रुपमा पुजे जस्तै वौद्धमार्गीले वोधिसत्व अवलोकितेश्वरको रुपमा मानेका रहेछन् । यहाँ आउनु अगि मलाई जानकारी भएको कुरो भनेको देवता र राक्षस मिलेर समुन्द्र मन्थन गरेको बेला निस्केको हलाहल बिष जमिनमा राखेपछि संसारै विषाक्त हुने हुनाले संसारको भलाइको लागि शिवजीले उक्त विष पिउँदा त्यसको डाह खप्न नसकी रन्थनिएर पहाडको कुनामा रहेको पानीमा डुबेर बसेको कुण्ड नै गोसाइँकुण्ड हो भन्ने मात्र थियो । यस ठाउँको हिन्दु, बौद्ध र बोन्पो (तान्त्रिक) धर्मावलम्बीहरुको लागि आआफ्नै अर्थ, दर्शन र दृष्टिकोण रहेछन् । त्यसो त यही मेलामा आउनेहरुको लागि पनि यो यात्रा कतिलाई तीर्थयात्रा हो भने कतिलाई पदयात्रा र कतिलाई अध्ययन यात्रा । मलाई वोध भयो; म कति अज्ञानी रहेछु, संसार नै एउटा विशाल पुस्तक रहेछ ! नघुमे र घरै बसे विशाल पुस्तकको एकै पेज त पढिने रहेछ नि ! त्यसो त परम्ज्ञान (व्रह्मतत्व) बुझ्ने प्रयास स्वरुप मानिस (तिर्थ)यात्रा गर्दछ । हामी सबै नयाँ नयाँ ठाउँमा पुग्ने (तीर्थ) यात्रीहरू अज्ञातको खोजीमा अर्थात् नजानेको कुरा जान्ने रुचिमा नै हिँडेका हुन्छौँ । साइबाबाको एउटा भनाइ छ: जब बाटो सकिन्छ लक्षमा पुगिन्छ र तिर्थयात्रीले चाल पाउँछ, यात्रा त आफूदेखि आफैसम्म रहेछ !
गोसाइँको अर्थ तामाङ भाषामा शिरको भूमि हुँदो रहेछ । यो पहाडको टुप्पोतिर अवस्थित ठाउँलाई 'शिरको भूमि' भन्नु तार्किक छ । नेपालीमा गोसाइँको अर्थ मालिक। हिन्दु पुराणमा देवादिदेव महादेव सबैका 'गोसाइँ' । गोसाइँ सुतेको कुण्ड गोसाइँकुण्ड हुने नै भयो ! जे होस्, गोसाइँकुण्ड धार्मिक सद्भाव र सहिष्णुताको अनुपम् केन्द्र रहेछ। हामी शान्त रहेर सँगै बस्न चाहन्छौं भने हामीले एकअर्कालाई अझ राम्ररी चिन्नुपर्छ । वाह्य स्वार्थले नगिजोलिएका र नथलिएका हाम्रा बस्ति, संस्कृति र परम्पराहरु कति सहिष्णु रहेछन् ! हामी एक अर्कालाई स्वीकार्दै र हामी बीचको भिन्नतालाई कायम राख्दै एकसाथ बस्न सक्छौँ भन्ने पाठ पढाइरहेकाछन्। यत्ति कुरा बुझ्न सके वैदिक मन्त्रमा भनिए झैं "ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,… शान्तिरेधि" अर्थात् संसारमै शान्ति कायम हुन्थ्यो नि !
म साँझको शान्त समयमा कुण्ड किनारमा पुगेँ । यात्राको सुरुमै रुघाले समातेको थियो । औषधी, तातो पानी र न्यानो रहेर आफूलाई सम्हाल्नु थियो । मन चंगा तो कठौती में गंगा । त्यसैले लघुस्नान गरेर केही बेर काला पर्वत, निलो कुन्ड र शान्त वातावरणसँगै आराधनामा हराउँदा मैले मन्दिर र कुण्डको बिचमा रहेको किनारको शान्त र चन्द्रमाले पोखेको उज्यालो वातावरणमा अलौकिक शान्ति र सुखानुभूति गरेँ । लक्षसम्मको कष्टप्रद यात्रा सकिइसकेको थियो, अस्थित्वमा वर्तमान मात्र छ; भविष्य गर्भमै छ ।

हाम्रो टोली पवित्रस्थल गोसाइँकुण्डको मुखैमा पुग्दा हामीसँगै हिँडेका तर हामीलाई उछिनेका महिलापुरुषको एउटा टोली फर्किँदै गरेको देखेर हामीले सोध्यौँ, “किन यति चाँडै फर्कनुभएको ?" "बस्ने ठाउँ पाइएन। थर्पुमा कोचाकोच छ, मानिसका पसिना गन्हाएर बसिसक्नु छैन । तल भैरवकुण्डका थर्पुमा ठाउँ पाइन्छ कि ! हामी त त्यतै लाग्यौँ ।" एकजना महिलाले भन्नुभयो। वहाँहरुले बास पाउनु भयो कि पखेराको बास भयो हामीलाई थाहा भएन । त्यसो त दिनभर फर्किनेको लर्को बाटाभरि हामीले नभेटेको होइन। हामीले पनि गोसाइँकुण्डको रात आँखा झिमिक्क नगरी बितायौँ। अच्युत पौडेलले राति १२ बज्नासाथ नुहाउन जाऊँ भन्दै हुनुहुन्थ्यो । हामीलाई पालमा सुताएका साहुले ४/५ बजे सम्म कुर्न भनेपछि मुस्किलले रात गुजारी हाम्रो टोली ४ बजे कुण्ड स्नानका लागि तल झ-यो । यो हालत हाम्रो मात्र थिएन, त्यहाँ रात गुजार्न वाध्य सबै यात्रीको यही विवशता थियो । हामी नेपाली कुनै न कुनै हिसाबले ईश्वरीय अस्तित्व स्विकार्छौं । ईस्वरलाई नै शक्ति, प्रेम र अनुग्रहको श्रोत मान्दछौं । त्यसैले त "अमुकवादका सिद्धान्त दीक्षित'हरुले सार्वजनिक रुपमा ईश्वरको नाम लिन हिच्किचाए पनि निजी जीवनमा पूजापाठ र पापकटनी कार्यलाई अपनाइरहेकै हुन्छन् । यस हिसाबले तिर्थस्थल पुग्नु हामीहरुलाई तपस्या गर्नु हो । तपस्या भन्ने बित्तिकै चिताएको कुरो प्राप्त गर्न अपनाइने कठोर एवं कष्टदायक आचरण हो । 'तपस्या सिद्धान्त'कै प्रभावले मानिसहरुले तिर्थयात्राका यस्ता अनेकौँ कष्टसाध्य अनुभवलाई सामान्य रुपले स्वीकारेका हुन् कि ?
यात्रा वा भ्रमणबाट थाहा पाउनु पर्ने कुरो के हो भने यात्रा भनेको हिँड्यो खायो पचायो सिद्धियो होइन । यात्राको सिकाईले हामीलाई हाम्रा पूर्वनिर्धारित धारणा र कल्पित विचारलाई चुनौती दिनुपर्दछ । यात्राकै कारण हामीलाई हाम्रा धारणाहरूमाथि पुनर्विचार गर्न, हामीलाई अलिकति हल्लाउन, सोचाइ फराकिलो बनाउन र अझ बढी समझदार बनाउन सक्ने हुनुपर्दछ। यसरी प्रत्येक यात्राले हामीलाई (सिक्न चाहेमा) केही न केही कुरो सिकाउँछ नै । यस यात्राले मलाई सिकाएको अनेकौँ पाठ मध्ये एउटा पेचिलो पाठ हो: हाम्रा पर्यटन सेवा प्रदायक सरोकारवालाले यात्रा र पर्यटन बिच फरक देखेका छैनन् र पर्यटनलाई दीगो बनाउन र उत्तरदायी तवरले चलाउन ध्यान पु-याएका पटक्कै छैनन् । यात्रा लामो भ्रमणमा गइने गतिविधि हो। पर्यटन पनि लामो भ्रमण नै हो, तर पर्यटनको खास उद्देश्य हुन्छ। पर्यटकले भ्रमणबाट भरपुर मनोरञ्जनको आस गरेको हुन्छ भने अर्कातिर सेवाप्रदायकले पर्यटनलाई व्यावसायिक हिसाबले चलाएर अर्थोपार्जन गर्दछ ।
ढिम्साको सानो कोठालाई १ रातको बासलाई रु ६ हजारको मोलमोलाइ, गोसाइँकुण्डमै बढीमा २ जना सुत्न मिल्ने पाललाई लामो सौदाबाजी पछि १ रातको रु ५ हजारको मोलतोल, मेलाको रात गोसाइँकुण्डका खानापसलमा १ कप कालो चियाको १ सय रुपियाँ र १ पोका चाउचाउको झोललाई रु २०० तिर्नुपर्ने वाध्यता, १५ रुपियाँ पर्ने १ बोतल पानीलाई १५० रुपियाँ तिर्नुपर्ने कृत्यबाट के बुझिन्छ भने कदापि पनि सरकार र स्थानीय सरोकारवालाहरु न त पर्यटनलाई दीगो व्यवसाय बनाउन चाहेका छन् न त जिम्मेवारपूर्ण । जिम्मेवार पर्यटन भनेको "यात्रु/पर्यटक बस्नको लागि उत्तम ठाउँहरू बनाउने र मानिसहरूले भ्रमण गर्न र फेरि फेरि आउनका लागि अझ राम्रा र लोभ लाग्दा ठाउँहरू बनाउनु र आतिथ्यले मन जित्नु हो।" जिम्मेवार पर्यटन हुनका लागि पर्यटन संचालक, होटेल/रेस्टुरेन्ट , सरकार/स्थानीय सरकार, स्थानीय व्यक्ति र पर्यटक समेत जिम्मेवारपूर्ण हुनु पर्दछ । पर्यटनलाई दिगो बनाउनको लागि कदम चाल्नु पर्छ। अहिलेको गैरजिम्मेवार पर्यटन व्यवसायले ‘सुनको अण्डा दिने कुखुरीको कथा’लाई याद दिलाउँछ । जो आउँछ, लुटिहाल, एकै छाक बनाऊ ! यो भनेको पर्यटन दीगो हुने मेसो पटक्कै होइन ।
तामाङ विश्वास अनुसार जलकुण्डलाई पटक्कै फोहोर पार्नु हुँदैन । तिर्थालुले पूजासामग्री लिएर गएका झोला र पूजापश्चात् निस्कने फोहोर विसर्जन गर्ने ठाउँको व्यवस्था छैन । त्यसो त चर्पीको अभावमा सयौँ मानिसहरु रात भरि नै पहाडका ढुंगाको छेल पारेर दिसापिसाव गर्न वाध्य थिए ।
यति सुन्दर ठाउँ जसको धार्मिक हिसाबले अहम् महत्व छँदै छ; पदयात्रा, अध्ययन भ्रमण र केही समय ध्यान गर्न वा शान्त वातावरणमा रमाएर फर्कन पनि गोसाइँकुण्ड उपयुक्त ठाउँ हो भन्ने कुरामा कुनै शंसय रहेन । तर सकेसम्म धेरै पटक नभएपनि ३ पटक पुग्नु पर्ने विश्वास रहेको यस ठाउँमा यहाँको व्यवस्थापकीय र व्यवसायिक पक्षले भने दोहोराएर जानलाई प्रेरित गर्दैन ।
भारतका कयौँ तिर्थ स्थलमा जस्तै सरकारले पर्यटन विकास गर्न चाहेमा कुण्डदेखि नजिकको उचित स्थल वुद्धमन्दिरमा पर्यटन व्यवसायीलाई होटेल, लज, रेस्टुरेन्ट संचालन गर्न प्रेरणा मिल्ने वातावरण सिर्जना गर्नु पर्ने देखिन्छ । त्यसो त सरकार आफैले यात्रु/तिर्थालुहरुको लागि स्थायी संरचनाका ठूला ठूला सशुःल्क धर्मशाला र भोजनालयहरु सन्चालन गरिदिने हो भने पाहुना लुट्ने व्यवसायीहरु आफै ठेगानमा आउँथे !
बिहानै झिस्मिसेमा स्नान, पूजा र आराधना कर्म सकिए पछि हाम्रो टोली चिया खानलाई पनि रोकिन चाहेन । "१०० रुपियाँ कप (कालो) चिया त के वुद्धमन्दिरमा पाइने ५० वाला पनि नखाने । त्यो बाट तल झरेपछि ३० रुपियाँमा पाइन्छ; अनि मात्र खाने !" मैले भनेँ । पूर्वी आकासमा लाली पोतिँदै थियो, उत्तरपश्चिमतिर गणेश हिमाल हाँसिरहेको थियो । घाँसे पाखामा रंगीचंगी भुइँफूल फुलेका थिए र पाटनमा चौँरी गाई चरिरहेका देखिन्थे । दामोदर भाइले फेसबुकमा हाल्न भनेर यिनै पर्वत र पाखालाई पृष्ठभूमिमा राखेर फोटो खिचाउन दिवाकर भाइसँग व्यस्त थिए । यी दृश्य देखेर म दोधारमा परें: हामीले यात्रा संसार हेर्न गर्छौं कि संसारलाई यात्रा देखाउन गर्छौं ? मैले भने गोसाइँकुण्ड बारे अरुले १०० चोटी भनेको सुन्न भन्दा १ चोटी आफै पुग्न जाती भनेर यात्रा गरेको थिएँ । यात्राको क्रममा तिर्थ कार्कीलाई पनि कम पिर परेको रहेनछ ! “अर्को पटक आउन जु-यो भने बरु भरिया लिएर टेन्ट र खानेकुरा आफै लिएर आउने ! यिनीहरुले लुटेको भन्दा हामीलाई सस्तो पर्छ ।” सोचेर सटिकमात्र बोल्ने वहाँले टिप्पणी गर्नुभयो । वास्तवमा हामीलाई धेरै पैसा तिर्न परेकोमा भन्दा पनि अन्याय हुने गरी विवशताको फाइदा उठाएकोमा दुःख लागेको थियो । सबैको पेट कोक्याइरहेकाले ३० रुपैयाँ कप चिया पाइने ठाउँमा पुग्न हतार भैसकेको थियो । अल्लि ढिलो हिँडेका अन्जन भाइलाई अच्युत पौडेलले अगाडी लगाउनु भयो र हामी सबै ओरालो गुटुंग टुंग झ-यौं । यात्रा लामो भयो कि छोटो भयो यात्राको सँगीसाथीमा भर पर्छ ! हाम्रो टोलीमा रमाइलो गर्न सबै जना को भन्दा को कम भएकाले समय बितेको र बाटो काटेको पत्तै भएन । अफिसमा इमेल लेखेका र फाइल पल्टाइएका सबै कुरा जीवनको अन्तिम क्षणसम्म सम्झना हुन्न तर यो यात्रा जीवनभर सम्झनामा अमेट रहने पक्का छ । राति टेन्ट भित्र सुत्दा मेरो टिसर्टमा भुईँबाट आएको हिलोको दाग धोएपछि मेटिएला तर भ्रमणको क्रममा भित्री मुटुमै लागेका गोसाइँकुण्डसम्म पुग्दा बाटाका कयौँ छाप आजीवन रहनेछन् । आखिर हाम्रो जीवनको उद्येश्य भनेको सम्झना बोकेर मर्ने हो, सपना बोकेर होइन ।
अन्तत: चिया खाने ठाउँ आइपुग्यो । चिया खाने बेला मैले गोसाइँकुण्ड भन्दा माथि रहेका अन्य कुण्डबारे र त्यहाँ जम्माजम्मी १०८ कुण्ड रहेका कुरा गर्दा एक जना तिर्थालुले त्यहाँ पुगेर पनि आफूलाई अन्य कुण्डबारे थाहै नभएकोले सकिने जतिमा जान नपाएकोमा पछुताए । सरकारले लाइसेन्स प्राप्त गाइडको व्यवस्था गर्ने अथवा बाटोमा पर्यटन/तिर्थस्थल सूचनाकेन्द्र स्थापना गरिदिने हो भने त्यति कष्ट गरेर त्यहाँसम्म पुगेकाहरुले थप ठाउँ भ्रमण गरी बसाइ लम्ब्याउँदा पर्यटन व्यवसायलाई र अन्ततः देशकै अर्थतन्त्रलाई टेवा पुग्दथ्यो । त्यसो त यो देशमा 'आइडिया' वा उपाय नजानेर विकास नभएको होइन, विगतदेखि अहिलेसम्म सरकारमा पुग्नेहरुको फिल्डमा इमान्दारपूर्वक काम गर्ने भित्र देखिकै चाहना नभएर हो । ज्यादा किम् ।

No comments:

Post a Comment