Monday, December 13, 2021

 किम्री यात्रा

रारासम्मको यात्रा वर्णन धेरै लेखिइसकेका छन् । र धेरैलाई लाग्छ, रारा ताल र यसैको सेरोफेरो मुगुमा रहेको एकमात्र पर्यटकीय गन्तव्य हो । यो केही हदसम्म सत्य होला तर सम्पूर्ण भने होइन । सुर्खेत, दैलेख कालिकोट, जुम्ला भएर गाडीमा हुइकिँदै वा नेपालगन्जबाट ताल्चा उडी १/२घन्टा उक्लेर राराको डिल नजिक पुगी १ घन्टा हिँडेर त्यहाँ रहेका सिमित होटेलमा रात गुजारेर फर्कने हो भने वास्तविक मुगुसँग न भेटघाट हुन्छ न त भ्रमणको मज्जा नैआउँछ ।
पहाडी भ्रमणको मज्जा लिने हिँडेर नै हो । राराबाट ४/५घन्टा हिँडेपछि गुम पुगिन्छ । अहिले यसलाई गमगढी भनेर चिन्दछन्, हाल छायाँनाथ रारा नगरपालिकाको सदरमुकाम । पदयात्रामा रुची हुनेहरुलाई यही नगरपालिकाको नाममा जोडिएको “छायाँनाथ” पर्वततिरको क्षेत्रतिर यात्रा गर्न अविष्मरणीय छनौट हुन सक्छ । अलिकति मेहनत पर्ला र पहाड चढ्नुपर्ला । फेरि पहाड चढ्ने भनेको आफूले संसार हेर्नलाई हो । संसारले आफूलाई हेरोस् भनेर होइन ।
हामीलाई साथ दिन तम्सेर हामीसँग हिँडेकाहरुलाई नगन्ने हो भने हामी काठमाडौँबाट आएका ३ जना घुमन्ते थियौँ ।गुम बजारबाट तल झरेपछि गमगाडको घाटमा पुगिन्छ । गाड भनेको यहाँको भाषामा खोला । यही गाडबाट बिजुली निकालिएर गुम र यसको सेरोफेरो अहिले झिलिमिली भएको छ ।
घाटबाट अब हामी उत्तर-पूर्व लाग्यौँ । देब्रेपट्टि कर्णाली उँभोबाट सुस्साउँदै झरिरहेको छ, हामी काखैकाख फराकिलो बाटोमा थाहा नपाउने गरी उक्लिदै गयौँ । सुरुको पहिलो दिन । हाम्रो गती ठिक्कको छ । यात्रा भनेको गन्तव्यमा पुगेर रमाउनलाई मात्र होइन । बाटोमा भेटिने ढुंगा, घाँस, बुटान, खोलासँग चिनजान गर्न हो, भेटिने नयाँ मानिससँग नाता जोड्न हो । १ घन्टा जति हिँडेपछि लुम्स बजार पुगियो । सधैँ भोकैले मात्र खानेकुरा खाइँदैन ।विश्रामको लागि चिया खान बस्यौँ । केही साथीहरुले स्याउ खाए । ठूला रसिला ताजा स्याउको दानाको ५ रुपैयाँ । हामी यात्रामा छौँ । यात्रामा खर्चको नियम फरक हुन्छ । अर्थात् यात्रामा गरेको खर्चले अनुभवको धनी होइन्छ ।
अग्ला अग्ला पहाड, पहाडको कन्दराबाट झरेका झरना र कर्णालीको गीत सुन्दै हामी अर्को १ घन्टामा मुगुम् कर्मारोंग गाउँपालिकाको स्वागतद्वारमा पुग्यौँ । त्यसो त म र मसँगै यात्रा गरिरहनु भएको अच्युत पौडेलको लागि यो भेग नौलो र प्रथम पटक थिएन । हामीलाई नयाँ धरातल हेर्नुभन्दा पनि यसपटक नयाँ आँखाले हेर्नमा मज्जा थियो । हामी एक हिसाबले यसपटक पद यात्रीको रुपमा हिँडेका छौँ ।
आधुनिक सिमेन्टी ढलान पिलरमा बनाइएको प्रवेशद्वारको सिरानमा तिब्बती बुद्ध धर्म महायान परम्परा अनुसारको बुद्धको चित्र अन्कित छ । मुनि नेपाली, अंग्रेजी र भोटे भाषामा गाउँपालिकाको नाम लेखिएको छ ।
मुगुमा जिल्लामा ४वटा पालिका छन् । मुगुम् कर्मारोंग गाउँपालिका क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो पूर्वी उत्तरी क्षेत्रको पालिका हो । यो क्षेत्र सामाजिक साँस्कृतिक हिसाबले जडान क्षेत्र हो । अर्थात् लामा समुदायको क्षेत्र । मुगुको तल्लो भेगलाई खसान र माथिल्लो भेगलाई जडान भन्ने गरिन्छ । बोलिचालीको हिसाबमा भोटे बस्ती । जातिको हिसाबमा सबैले नामको अन्त्यमा लामा भन्ने गरेको पाइन्छ ।
अहिले बर्खाको अन्त्यतिरको समय । बाटो कतिपय ठाउँमा डरलाग्दो गरी बिग्रेको थियो । एक पाइला गलत ठाउँमा पर्नासाथ सिधै कर्णाली नदीमा पुगिने । यात्रालाई खतरा मानेर घरकै चार पर्खाल भित्रै सिमित हुनुमा पनि त घातक छ नि ! एकांकी निरस जीवन र मृत्युमा के पो फरक छ र । जीवन जीवन्त हुनुपर्छ । चलायमान ।
साँझ बास बस्न छयलबगर पुग्यौँ । खसान भेगबाटै ब्यापार गर्न पुगेका खस समुदायको व्यक्तिको होटेल रहेछ । तर आन्तरिक साजसज्जा पूरापुर लामाहरुको प्रभाव परेको । मैले पूर्वदेखि पश्चिमसम्मका पदयात्राका होटेल र होमस्टेहरुको अनुभव गरेको छु । मेरो अनुभवमा लामाहरु होटेल व्यवसायमा अरु समुदायका भन्दा अगाडि पाएको छु । मुगुकै गमगढी, खत्याड र सोरुमा भन्दा मुगुम् कर्मारोंग क्षेत्रमा होटेल, खाजा पसल, होमस्टेमा आतिथ्य सत्कार तारिफयोग्य छ । सरसफाइ, साजसज्जामा पनि अगाडि छ । छयलबगरको हामी बास बसेको होटेल सफा छ । तिब्बती परम्पराका होँचा लामा टेबल, पलेटी कसेर फलामे धुवाँरहित चुलोमा आफ्नै अगाडि पाकिरहेको खाना ।
अर्को दिनको हिँडाइ लामो भएकोले ९ बजेतिर नै खाना खाएर बिछौना च्याप्यौँ ।
बिहानै ६ बजे चिया खाजा बाटोमै खाने निधो गरेर यात्रालाई निरन्तरता दियौँ । सवा ७ बजे ढुंगेधारा पुग्यौँ । सानो बजार रहेछ । सांग्मो होटेलमा खाजा खाने सुर भयो । लामाबाले बडेमानको स्थानीय काँक्रो चिरेर खुवाउनु भयो । अरुले बिस्कुट र चिया खाए । मैले भान्सामा भोटेचिया मथ्ने भाँडो देखेपछि भोटेचिया खान मन गरेँ । लामा भाइले मथिहाले । कचौराको पिँधमा उवाको सातुको तह, त्यसमाथि अर्को पत्र छुर्पीका दानाको र त्यसमाथि लामाभाइले खनाएको मथेको भोटे चिया । चिया सुर्काएर सकेपछि मैले भिजेको सातु चाट्थेँ । लामाभाइले माया घोलेको चिया थप्थे । ४/५पटक चिया थपेर खाएपछि सातु सकियो । फूर्ति आयो अगि बढ्न । अलिकति अगाडि बडेपछि कोदोबारी छिचोल्दै हामी रिउसबगर पुग्यौँ । मुगुको उपल्लो भेग साँच्चिकै सुन्दर छ । मायाले काख हाल्न हात लम्काउलान् जस्ता नजिकै ठडिएका पर्वतमाला । सफा सुन्दर साना फूलबारी भएका घरहरु । एउटा घरको आँगनमा फुलेका सुन्दर फूललाई क्यामरामा कैद गर्न मन लागेर आँगनमा उक्लिएँ । एउटी महिला घरबाट निस्केर मुस्कुराउँदै सोध्नुभयो, “कहाँ जाने दाजु ?” मैले मुस्कुराउँदै जवाफ दिएँ, “आज किम्रीसम्म ।” चिनजान भयो । वहाँको नाम पालजुंग लामा रहेछ । सहरमा हाँस्न प्रहसन कार्यक्रम हेर्नुपर्छ । मुस्कुराउन फुर्सद छैन । बारीमा पाकेको कोदो टिप्न हँसिया र डोको समातेकी यी बहिनीले मलाई “चिया बनाऊँ दाजु ?” भनेर सोध्दा म फेरि यी लामा समुदायको आतिथ्यले नतमस्तक भएँ ।
यात्रामा देखिएका सौन्दर्य, नौलोपना र नयाँ ज्ञानले एकछिन अवाक बनाउँदो रहेछ र त्यसपछि कथाकार बनाउँदो रहेछ । यात्राको दोश्रो दिनको कथा पनि नलेखिकन रहन यो मन मान्दै मानेन ।
कन्फुसियसले भनेका छन्, “कहीँ जानु छ भने पूरै हृदय बोकेर जानुपर्छ । र हृदय खनाउँदै हिँड्नुपर्छ ।” हाम्रो यात्रा हृदयदेखिकै थियो ।हामीलाई प्रत्येक क्षण र दृश्यले हृदयलाई पगालिरहेको थियो ।
अब हाम्रो यात्रा रिउसबगरबाट अगाडि बढ्यो मांग्री गाउँतिर । बाटाभरि झुलेका कोदोबारी छन्, भर्खरै बाली टिपेका चिनोका नल । कोदोबारीका गह्राका डिलमा स्वागत गर्न निउरी परेका राताम्मे मासेले बारीलाई यज्ञ झैँ सजाएका। लटेलाई यहाँको स्थानीय भाषामा मासे भनिँदो रहेछ ।
भिमकाय पर्वतहरुको बिचबाट बगेको कर्णाली सुस्साइरहेको छ । मांग्री पुगेपछि सुन्दर घरहरु देखिन्छन् सेता ढुंगाका । प्रत्येक घरका आँगनमा लिंगोमा फर्फराइरहेका वौद्ध ध्वजाले शान्तिका मन्त्र फैलाइरहेका देखिन्थे ।
धेरैलाई कर्णाली भन्ने बित्तिकै बिकट, अभाव, गरिबी, फोहोर, झिंगा भुनभुनाइरहेका बस्तीको चित्र आउन सक्छ । त्यो केही मात्रामा बिगत भैसकेको चित्रण हो वा तल्लो भेगको अवस्था हो । हामी पुगेका मांग्री गाउँका घरहरुले त्यो चित्रणलाई मिथ्या सावित गरिदिए ।घरका आँगनमा उच्च पहाडी फूलहरु हाँसिरहेका थिए । त्यसो त कतिपय आँगनमा फुलेका सयपत्रीले शारदी सौन्दर्य पोखिरहेका थिए र खासै हिन्दु पर्व नमनाइने भेगमा दशैँ तिहारको झल्को दिएर घर फर्कन यो मनलाई हतार बनाइरहेका थिए ।
यहाँका घरका कोठाहरु सफा र सुग्घर छन् । उमेरले ज्ञान दिन्छ, यात्राले संसार चिन्न र बुझ्न मद्दत पु-याउँछ । मैले सुनेका कुरालाई यात्रामा पाएको ज्ञानले गलत सावित गर्दै थियो । यस्तै यात्राले त आफू रहे बसेको ठाउँ सानो बिन्दु जत्ति मात्र रहेछ र संसार त विशाल पो रहेछ भन्ने महसुस गराउँदो रहेछ ।
मनमोहक दृश्यालोकन गरेर अघि बढ्दा बाटो काटेको पत्तै हुँदैन । हामी छयलबगरबाट पदयात्राको निरन्तरताको दिन सुरु गरी ढुंगेधारामा खाजा खाएर बिहानको खाना खान खाने समयमा पुलु गाउँ पुग्यौँ । पुलु बाटोमा पर्ने सानो बजार हो । हाम्रो आँखा “पेमा होटेल एण्ड गेस्ट हाउस”मा प-यो ।
“खाना खान पाइन्छ बहिनी ?” मैले सोधेँ । “पाइन्छ नि दाजु, म पकाइहाल्छु ।” होटेलधनी बहिनीले भन्नुभयो ।
खाना पाकुन्जेल पहाडी काँक्रा चपाउँदै भलाकुसारी भयो । वहाँको नाम पेमा । श्रीमान अंगजुक लामा । दुई महिनाअघि व्यापारको लागि तिब्बत जानुभएको रहेछ । त्यसो त अहिले वहाँ मध्य नेपालतिरको सिमाबाट नेपाल छिरिसक्नु भयो रे १५० भन्दा बढी च्यांग्रा खरिद गरेर । दशैँ अगावै पोखरा पु-याएर बेचेर काठमाडौँ घुमेर फर्कने रे ।
“व्यापार हाम्रो कर्म हो । श्रीमान बाहिर व्यापार गर्नुहुन्छ । म यहीँ गर्छु । छोराछोरी पढाइको लागि सहरतिर छन् । मेरो माइती आज तपाईँ पुग्ने किम्री गाउँमै त हो नि। हाम्रो घर जुम्ला बजारमा पनि छ । तर त्यहाँ बस्न मन लाग्दैन । आफ्नै ठाउँ प्यारो । १० बर्ष जति भारतमा तिब्बती रेस्टुरेन्ट चलाएर पनि बसियो ।अर्काको मुलुक जाती लागेन । यहाँ आएर यो घर भाडामा लिएर होटेल चलाएको नि ।” पेमा बहिनीले पाक्दै गरेको तरकारी चलाउँदै भन्दै हुनुहुन्थ्यो ।” धेरैले ठान्न सक्छन्, यात्रामा नयाँ मानिससँग भेट हुन्छ । तर तपाईँले यात्रा गर्दा आफैलाई भेट गर्नुहुन्छ । आफूले सुनेका भरमा गरेका अनुमान गलत सावित हुन्छन् । आफ्नो देश, गाउँ र ठाउँलाई माया गर्न कुनै कवि हुनु पर्दैन न त फोस्रा भाषण गर्ने नेता । यो देशको राष्ट्रियता यस्तै पेमा र अंग्जुकहरुमा टिकेको छ ।
तिब्बती परम्पराको भान्सा र खानेकोठा । धुवाँरहित फलामे चुलोको प्रयोगले गर्दा सफा भित्ता र दलिन । चिटिक्क मिलाएर राखिएका भाँडाकुँडा । कोठाको देब्रेपट्टिको भित्तामा वुद्धका प्रतिमा र आरधनाका सामग्रीहरु । वुद्धको प्रतिमा देख्नासाथ त्यो प्रेममय वातावरणमा मलाई अझ सुखद अनुभुति भयो ।
खानाखाइवरि बिदा हुने बेलामा फर्कँदा यहीँ बास बस्ने निधो भयो । मायाको मसालाले पकाएको भोजन र प्रेम बर्साएको आतिथ्यलाई कसरी नकार्न सकिन्छ र !
अब कर्णाली नदीलाई दायाँ पारेर हाम्रो यात्रा अगाडि बढ्यो । यात्रा भनेको कहीँ पुग्नको लागिभन्दा पनि यात्रामा नै रमाउनलाई हो । त्यसैले मलाई यस्ता रमाउन गरिएका यात्रामा कुनै एउटा ठाउँबाट अर्को ठाउँमा पुग्न कति समय लाग्छ भन्ने प्रश्न उति जायज लाग्दैन । मन लागेका ठाउँमा बढी बसिन्छ । मन परेका कुराहरुबारे सोधखोज गरिन्छ । लोभ्याउने दृश्यहरु क्यामरामा कैद गर्न समय खर्चिन्छ । जे होस् डेढ घन्टाको समयमा कर्णालीको अर्को झोलुंगे पुल तरेर पारिपट्टि पुगियो जहाँ उच्च पहाडी घाँसे चरनमा एक हुल झोभा र झोमा चरिरहेका देखिए । यहाँको भाषामा झोभा भनेका गोरु हुन् र झोमा भनेका गाई । यी झोभा र झोमा भनेका चौरी र तल्ला भेगमा पाइने गाई गोरुका ठिम्याहा । चौरको अगाडि ठडिएको त्यार गुम्बा । त्यार गुम्बाको मनोरम् शान्त वातावरणमा एक छिन टहलिएर सँगै यात्रा गरिरहेका नमराज र मैले थकान मेटायौँ । एउटा अलौकिक आनन्द । अब किम्री गाउँ पुग्न ठाडै उकालो चढ्नु छ । वुद्घको दर्शनबाट प्रेरित भएको अनुभुतिले हामीले ठाडो पहाड उक्लन पूरापुर शक्ति प्राप्त ग-यौँ ।
त्यार गुम्बाबाट किम्रीगाउँ जान ठाडै उकालो हिँड्नुपर्छ । कुनैकुनै ठाउँमा नाकै ठोक्किने उकालो । पुलुमा खाना खाएर हिँडेकाले हामी मध्य दिनको घाममा प-यौँ । पहाडका तातेका चट्टानले हामीलाई रनक्कै सेकिरहेको थियो । किम्री हेर्ने रहरले हामीसँग लतारिएका धर्मराजका खुट्टा बाटाका कुनै विन्दुमा सम्म परेका तेर्सो बाटा भेटिए ठाडो बाटो छोडेर उतै लाग्थे । तर हाम्रो गन्तव्य अविचलित उकालोतिर थियो । “तिमी पछिल्लो समयमा निकै मोटाएका कारणले तिमीलाई उकालो हिँड्न धौधौ परेको हो । के खाएर मोटायौ यति धेरै ?” धर्मराजलाई हौस्याउन र बाटो कटनीका लागि मैले ठट्टिलो पाराले उनलाई सोधेँ । “थाकेर मुख बिगारेका उनले उत्तर दिन सकेनन् । अच्युत पौडेलले भन्नुभयो, “मोटाउने बेला आएपछि त्यस्तो केही खानुपर्दैन । श्रीमतीको गाली खाए पनि मोटाइन्छ ।” धर्मराजलाई चित्त बुझेर हो कि किन हो, एउटा आँखा चिम्लिँदै टाउको ढल्काएर फिस्स मुस्कुराए । पदयात्राको मज्जा पदयात्रा गर्नेले नै चाल पाउँछ ।थाक्दा पनि बढो आनन्द आउँछ । यसका लागि स्वास्थ्य तन्दुरुस्त हुनुपर्छ । त्यसो त समय मिल्ने बित्तिकै पदयात्रा गरिरहने हो भने स्वास्थ्य तन्दुरुस्त भइहाल्छ । जीवनमा यात्राको लागि समय आफै निस्किदैन । आफूले निकाल्नुपर्छ । फेरि यात्रा गर्ने भनेको जीवनबाट पलायन हुनलाई पनि होइन, बरु जीवन हामीबाट पलायन नहोस् भनेर छोप्नको लागि हो । यात्राले जीवनलाई जीवन्त बनाउँछ ।
डेढ घण्टादेखि दुई घण्टा जतिको उकालो र अन्त्यमा अलिकति तेर्सो बाटो हिँडेपछि हामी किम्री गाउँ पुग्यौँ । मैले डेढ घण्टादेखि दुई घण्टा भनेँ । हिँड्न सक्नेलाई १ घण्टा मात्रै लाग्यो । फोक्सो नै लफ्र्याक लफ्र्याक गरी मुख बाहिरै निस्क्यो कि जसरी स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर उकालोमाथि विजय प्राप्त गर्नेलाई २ घण्टा लाग्यो । प्रकृतिसँग रमाएर पारि भित्ताका चट्टान, बन र प्रकृतिसँग हराउँदै पाइला चाल्नेलाई डेढ घण्टा लाग्यो होला ।
किम्री गाउँ पुगनपुग १०० घरधुरी भएका लामाबस्ती हो। डेढ बर्षअगि यही गाउँमा आगोलागी भएर १९ वटा घर पुस्तौँदेखिको श्रीसम्पतीसहित पूरा ध्वस्त भएका थिए । अच्युत पौडेल र म कार्यरत सँस्थाको पहलमा ती १९ दुई तले घर भर्खर पुनर्निर्माण भएर ठडिएका थिए । गाउँको बिचमा पुग्दा ती लामा परिवारको कृतज्ञता मिसिएको हार्दिकताले हाम्रा आँखा खुसीले रसाए । हामी परियोजनाको कामले भन्दा पनि पदयात्रा गरेर उनीहरुसँग आत्मियता साट्न यो गाउँ पुगेका थियौँ । गाउँको सिरानमा किम्री गुम्बा छ । त्यहाँ पुगेर गुम्बा दर्शन नगर्नु कल्पनाकै पनि कुरा भएन । श्रद्धा र आत्मियतासाथ गुम्बाभित्र छि-यौँ । अष्टमंगलका चिन्ह अंकित असली खादाले स्वागत पाउँदा मनमा कति अपार शान्ति र हर्ष भयो, त्यसको लागि मसँग अहिले शब्द नै छैनन् । एकछिन गुम्बा भित्रै बस्यौँ । लामाहरु जीवन र मोक्षका पाठ सुनाइरहेका थिए “जन्मेपछि दुःख हुन्छ । दुःखको कारण हुन्छ । कारण भनेको तृष्णा हो, मोह हो । दुःखबाट पार लाग्ने उपाय छ: निर्वाण । निर्वाणको लागि चाहनेहरुको लागि बाटो छ ।”हाम्रो यात्रा पनि एक प्रकारको मोक्ष प्राप्तीकै लागि थियो । व्यवहार, व्यवसाय र व्यस्त दैनिकीबाट छुटकारा ।
अब यस ठाउँ (किम्री)भन्दा अगि बढेपछि “छायाँनाथ क्षेत्र” पुगिन्छ । यहाँ मैले छायाँनाथ क्षेत्र भनेँ । मुगुमा त्यो ठाउँलाई छायाँनाथ वा छायाँनाथ मन्दिर मात्र भनेर चिनिन्छ ।
छायाँनाथ मन्दिर मुगुको पवित्र पौराणिक क्षेत्र हो । यो मनोरम् पवित्र स्थल राज्य र र पर्यटन सरोकारवालाको वेवास्ताको कारणले यसको चर्चा नभएर आम जगतमा गुमनाम जस्तै भएको हो । समुद्री सतहदेखि ४५ सय मिटरको उचाइमा अवस्थित यस मन्दिरमा प्रत्येक वर्ष जनै पुर्णिमाको समयमा ५ दिनसम्म मेला लाग्ने गर्दछ । जनै पुर्णिमाको बेला जुम्लाको ठाकुरज्यूको गाथ पुजारीका साथमा बाजागाजा र सुरक्षाकर्मीहरू सहित छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ तिर्थयात्रा सुरु हुन्छ । मुगुका हिन्दु परम्पराका भक्तहरुले यस मन्दिरलाई बद्रीनाथ र केदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ मान्दछन् । पौराणिक कथा अनुसार सत्य युगमा भगवान शिवले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिंडेका बेला सतिको मृत शरिर गलेर जहाँ जहाँ सतीका अङ्गहरू पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरू बन्दै गएको कथा स्वस्थानी कथामा उल्लेख गरिएको छ । यसरी सतीको मृत देह गलेर पतन हुने क्रममा “छाँया क्षेत्र” नामक यस स्थानमा बाँकी रहेका सबै अङ्गहरू पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी कथामा उल्लेख गरिएको छ । यो पुराणको कुरा भयो । वर्तमानमा पनि छायाँनाथ “छायाँ क्षेत्र” नै हो । राज्यको प्राथमिकता र उज्यालो नपुगेर छायाँमा परेको क्षेत्र । त्सो त राज्य पर्यटन विकासमा धेरै उदासिन छ । जे जति भएको छ, प्रकृति र पुराना ऐतिहासिक स्थलले धानेका छन् । पर्यटन बर्ष २०२० को पूर्वसंध्यामा यस्ता कुरा गर्न वाध्य हुँदा मन अमिलो भएर आउँछ ।
यहाँ यात्राको मनोरम् दृश्यका वर्णन र रोमान्चकारी अनुभव मैले बाँडे हुँला । तर यात्रा सधैँ सरल र सहज हुँदैन । कहिले निकै पिँडा हुन्छ, लस्त थाकिन्छ । मुटु नै फुट्ला जस्तो हुन्छ । तर यो पनि ठिकै लाग्छ । यात्राले हामीमा भएको विश्वदृष्टिकोण बदलिदिन्छ । हामीलाई नै बदलिदिन्छ । सम्झना, मन र चेतनामा कहिल्यै नमेटिने पदचाप कोरिन्छन् । हामीले घरबाट बोकेका भारीमाथि अनुभव र नयाँ ज्ञानका थप भारी थपिन्छन् । आखिर यात्रा भनेको चाहना मात्र नभएर आँटको कुरा हो । जहाँ गइन्छ, हृदय बोकेर जानुपर्छ, रक्तकोष र मांसपेशीले बनेकाभन्दा फरक संवेदनशिल भावना गुजुल्टिएर बनेको हृदय । 

No comments:

Post a Comment